
काठमाडौं— नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र हाल पर्सा जिल्लामा सरुवा हुनका लागि तीव्र प्रतिस्पर्धा र आन्तरिक दौडधुप चलेको देखिएको छ। देशका ७७ जिल्लामध्ये ‘कमाईको गढ’ भनेर चिनिने पर्सामा जान अनेकौं एसपीहरूको आकांक्षा रहेको सधैंझैं यसपटक पनि स्पष्ट देखिएको छ। पर्सामा सरुवा हुन, काम गर्न र लाभ लिन पाइने भनिएको अवसरका लागि अहिले दुई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) बीच प्रतिस्पर्धा चरम चरणमा पुगेको छ।
पर्सा प्रहरी र सशस्त्रका लागि ‘सुनौलो अवसरको भूमि —

पर्सा जिल्ला नेपाल–भारत सीमामा अवस्थित भएकाले यहाँ व्यापक आर्थिक गतिविधि, सीमा पार कारोबार, तस्करी नियन्त्रण, सीमावर्ती सुरक्षा र भन्सार निगरानी जस्ता कार्यभारहरू रहने गर्दछन्। यिनै कारणले पर्सा जिल्ला सुरक्षाकर्मीहरूका लागि ‘अत्यन्तै आकर्षक’ स्थानका रूपमा चिनिन्छ। तर आकर्षणको मूल कारण भने खुल्ला रूपमा कहिल्यै भनिँदैन — त्यो हो, ‘अतिरिक्त कमाईको संभावना’।
सूत्रहरूका अनुसार, विगतमा पर्सामा कार्यरत प्रहरी र सशस्त्र प्रहरीका केही एसपीहरू मासिक करोडौंसम्म कमाएको तथ्य पनि बाहिर आएको छ। विशेष गरी भारतीय पक्षबाट गरिएको नाकाबन्दीको समयमा व्यापक रूपमा लुटतन्त्र, तस्करी, भन्सार गेटहरूमा अवैध रकम संकलन, र राजनीतिक संरक्षणमा हुने कारोबारहरूले पर्सालाई सुरक्षा सेवाभित्रको एउटा “गोल्डेन पोस्ट” बनाइदिएको हो।
एसपी धिमालको सरुवापछि सुरु भयो दौडधुप—
हाल पर्सामा कार्यरत सशस्त्र प्रहरीका एसपी राधेश्याम धिमालको कार्यकाल एक वर्ष पूरा भइसकेको छ। नियमअनुसार उनको सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ। उनको स्थानमा सरुवा भएर जानका लागि अहिले सशस्त्र प्रहरी संगठनभित्र आन्तरिक प्रतिस्पर्धा चर्किंदै गएको छ। विश्वसनीय स्रोतहरूका अनुसार प्रमुख प्रतिस्पर्धा दुई जना वरिष्ठ सशस्त्र प्रहरी अधिकृत—एसपी शेरबहादुर अधिकारी र जीवन केसीबीच देखिएको छ।
एसपी शेरबहादुर अधिकारी लामो समयसम्म सशस्त्र प्रहरीको विशेष ब्यूरोमा कार्यरत रहँदै उच्चस्तरीय अनुसन्धान र विशेष सुरक्षा अभियानमा सहभागी भएका एक कुशल अधिकृतका रूपमा परिचित छन्। जबकि जीवन केसीले सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठको स्टाफ अफिसरको रूपमा काम गर्दै संगठनभित्र प्रभावशाली छवि बनाएका थिए। श्रोतका अनुसार यी दुई जनाको पूर्ख्यौली घर क्रमशः बागलुङ र नवलपरासी हो। उनीहरूबीच अहिले देखिएको दौडधुप संगठन भित्रै चर्चाको विषय बनेको छ।
यस्तो महत्त्वपूर्ण पोस्टिङमा मात्र योग्यता र कार्यक्षमता पुगेर पुग्दैन। राजनीतिक पहुँच, संगठनभित्रको सम्बन्ध, र प्रभावशाली अधिकारीहरूको ‘सुपक्षे घर’को समर्थन पनि निर्णायक हुने गरेको छ। यसपटक पनि तीव्र प्रतिस्पर्धाबीच कुनै एक पक्षले संगठनभित्रको समीकरण मिलाएर पर्सा जान सक्ने सम्भावना देखिएको छ।
संवेदनशील पोस्टमा किन छैन पारदर्शिता?
पर्सा जस्तो संवेदनशील जिल्लामा सरुवालाई सामान्य प्रशासनिक प्रक्रिया होइन, सशक्त पारदर्शी छनोट प्रक्रिया बनाउनु आवश्यक भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ। किनभने यस्तो जिल्लामा हुने खालको आन्तरिक प्रतिस्पर्धाले कहिलेकाहीँ संगठनको छवि र नैतिकता दुवैलाई असर पुर्याउन सक्छ।



