घोराही, दाङ —नेपाल उद्योग व्यापार महासंघ, घोराहीले जिल्ला ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बम र दाङ घरजग्गा तथा आवास व्यवसायी समितिका नवनिर्वाचित अध्यक्ष रामप्रसाद पोख्रेललाई मंगलबार एक भव्य समारोहका बीच स्वागत तथा सम्मान गरेको छ।

महासंघका नगर अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष ओपेन्द्रबहादुर महरा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा समाज, ट्राफिक व्यवस्था र शहरी विकासबीचको समन्वय आवश्यक रहेको भन्दै विभिन्न पक्षले आफ्ना धारणा राखे।

कार्यक्रममा उपाध्यक्ष महराले कानुन कार्यान्वयन गर्दा व्यवसायीलाई निरुत्साहित नहुने गरी व्यवहारिक कठिनाइ र बाध्यता बुझेर सेवा दिनुपर्ने कुरामा जोड दिनुभयो। साथै, खेतीयोग्य जमिन जोगाउने विषयमा विशेष ध्यान दिनु पर्ने र उत्पादनमूलक जमिन प्लटिङमा नराख्न अध्यक्ष पोख्रेललाई सुझाव दिनुभयो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख बमले ट्राफिक नियम कडाइका साथ पालना गराउने आफ्नो प्रतिबद्धता जनाउनुभयो। उहाँले कार्यभार सम्हालेकै दिन चारवटा मोडिफाइड बाइक नियन्त्रणमा लिई ती सवारीहरूलाई पुनः सर्भिस गराउन लगाएको बताउनुभयो।

उहाँले भने, “मोडिफाइ गरेर ठूलो आवाजमा पड्किने बाइक चल्न दिइने छैन। बाइकमा कुखुरा राखेर हिँड्ने, जेब्रा क्रसिङमा पार्किङ गर्ने, तोकिएकोभन्दा बढी यात्रु बोकेको, लाइसेन्स नभएको व्यक्तिलाई गाडी दिने कामप्रति हामी कडा निगरानीमा छौं।” साथै, उहाँले समुदाय, विद्यालय र अभिभावकस्तरमै ट्राफिक सचेतनाको आवश्यकता औंल्याउँदै लागूऔषधविरुद्ध सचेतना अभियान पनि सँगै सञ्चालन गरिने बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष रामप्रसाद पोख्रेलले कानुनभित्र रहेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै, “प्लटिङ मात्र पैसा कमाउने उद्देश्य होइन, सामाजिक उत्तरदायित्व पनि निभाउनेछु,” भन्नुभयो।

कार्यक्रममा घोराही–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष ध्रुवकुमार गहतराज लगायत अन्य वक्ताहरूले पनि शहरी व्यवस्थापन, व्यवसायी हित र कानुन पालना सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय