कैलाली, गोदावरी – कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाले नेपाल प्रहरीले देखाएको मानवता र सतर्कताका कारण सुरक्षित रुपमा सन्तान जन्माएकी छन्।

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले ती महिलालाई सडक छेउमा प्रसव पीडामा छटपटाइरहेको अवस्थामा भेटेपछि मानवीय पहलका साथ उद्धार गरेकी हुन्। देउवाले तत्काल स्थानीय बासिन्दाको सहयोगमा ती महिलालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सफलतापूर्वक सुत्केरी गराउन सहयोग पुर्‍याइन्।

प्रसूति सम्पन्न भएपछि प्रहरी जवान देउवाले आमालाई नवजात शिशुसहित पद्मा अस्पताल, अत्तरियासम्म आफैं पुर्‍याएकी थिइन्। अस्पताल स्रोतका अनुसार हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

चन्द्रिका देउवाको यो मानवीय कार्य सामाजिक सञ्जालमा निकै प्रशंसित भएको छ। एक सुरक्षाकर्मीले देखाएको यस्तो समर्पण र दयाभावप्रति सर्वसाधारणले आभार प्रकट गरिरहेका छन्। प्रहरी संगठनभित्र यस्तो सेवा भाव र संवेदनशीलता समाजका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रहरी जवान चन्द्रिका देउवा – सुरक्षा मात्र होइन, सेवा र समर्पणको पनि प्रतीक।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय