
जनकपुर, मधेश — प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले औपचारिक रूपमा मधेश प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। तत्कालीन प्रदेश प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त रहेको उक्त पदमा डिआईजी चतुर्वेदीलाई नियुक्त गरिएको हो।
डिआईजी चतुर्वेदी बुधबार जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय पुगेका थिए, जहाँ उनलाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ अधिकृतदेखि जवानसम्मले स्वागत गरेका थिए। स्वागत समारोहमा उनले प्रहरी संगठनको गरिमा, अनुशासन र जनमैत्री सेवाको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रभावकारी सेवा र सुशासनमा जोड—
पदभार ग्रहणपछि उनले मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएका छन् — “अपराध अनुसन्धान र नियन्त्रण प्रभावकारी बनाउने, नागरिक र पीडितमैत्री सेवा प्रवाह गर्ने, प्रहरीको आचरण सुधार गर्ने र मानव अधिकारको पूर्ण संरक्षण गर्ने हाम्रो प्राथमिक जिम्मेवारी हो।”
उनले मातहतका इकाइहरूसँगको समन्वय मजबुत बनाउँदै सामाजिक अपराध, महिला तथा बालबालिका विरुद्धका हिंसा र संगठित अपराधविरुद्ध तत्काल कारबाही गर्न निर्देशन पनि दिएका छन्। चतुर्वेदीले प्रदेशका हरेक इकाइमा कानूनको सर्वोच्चता, नागरिक प्रतिवद्धता र पारदर्शिता सुनिश्चित गर्न आह्वान गरेका छन्।
अनुभवी नेतृत्वमा आशा—
डिआईजी चतुर्वेदीलाई प्रहरी सेवामा अनुसन्धान, कमाण्ड र प्रशासनिक अनुभवका लागि चिनिन्छ। उनको नेतृत्वमा मधेश प्रदेशमा सुरक्षा, शान्ति र सेवा प्रवाहमा थप सुधार हुने अपेक्षा गरिएको छ।
यससँगै, मधेश प्रदेश प्रहरी कार्यालयले नयाँ नेतृत्वको सुरुवातसँगै अपराध नियन्त्रण, जनविश्वास निर्माण र समावेशी प्रहरी सेवातर्फ अझै बलियो पाइला चाल्ने संकेत दिएको छ।



