काठमाडौं — काठमाडौँको तीनकुनेस्थित मुनिभैरवमा आज बिहान बसले मोटरसाइकल र मारुती भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब साढे ६ बजे कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिएको हो। दुर्घटनामा परेकी २३ वर्षीया नगिना तामाङको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। उनी नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने थिइन्।

मोटरसाइकल चालक पदम थापा मगर, भ्यान चालक रत्नबहादुर सार्की र बस यात्रु मेनुका बुढाथोकी घाइते भएका छन्। ती सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक रामकुमार खड्का र भ्यान चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय