विराटनगर । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल अनिवार्य अवकाशमा गएका छन्। उनको सम्मानमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले विशेष बिदाइ कार्यक्रम आयोजना गरेको छ।

साउन १४ गते प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै एसएसपी दाहाललाई औपचारिक रूपमा बिदाइ गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी खनालले एसएसपी दाहालले आफ्नो सेवाकालभर नेपाल प्रहरी संगठनमा पुर्‍याएको समर्पित, अनुकरणीय र उल्लेखनीय योगदानको उच्च प्रशंसा गरे। उनले दाहालको सेवाभाव, कर्तव्यनिष्ठा र प्रभावकारी नेतृत्व संगठनका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै अवकाशपछिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन सुखद, सफल र सम्मानित रहोस् भन्ने शुभकामना व्यक्त गरे।

बिदाइ मन्तव्यका क्रममा एसएसपी दाहालले वर्दीबाट अलगिए पनि नेपाल प्रहरी संगठनप्रतिको आफ्नो माया, सम्मान र आत्मीयता कहिल्यै कम नहुने बताए। उनले प्रहरी सेवाका क्रममा निर्वाह गरेका जिम्मेवारी, प्राप्त अनुभव तथा सहकर्मीहरूसँग बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै संगठनप्रति कृतज्ञता व्यक्त गरे।

बिदाइ कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक एसएसपी शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, कोशी प्रदेश प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक मानबहादुर राईसहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय