
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन्।
एक भिडियो सार्वजनिक सन्देश जारी गर्दै आईजीपी कार्कीले नेपाल विविधतामा एकताको अनुपम उदाहरण भएको उल्लेख गर्दै धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि नेपाली समाज आपसी सम्मान, सहिष्णुता र भाइचाराका साथ अघि बढ्दै आएको बताए।

उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति फरक भए पनि देश र राष्ट्रिय भावना सबै नेपालीको साझा भएको बताए।
देशको वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै आईजीपी कार्कीले एकअर्काको धर्म, संस्कृति, संस्कार र आस्थाको सम्मान गर्न सबैमा आग्रह गरेका छन्। उनले कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा अभिव्यक्तिबाट टाढा रहँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचाराको वातावरण कायम राख्न सबै नेपालीलाई हार्दिक अपिल गरेका छन्।
आईजीपी कार्कीले शान्तिपूर्ण, सहिष्णु र जिम्मेवार व्यवहार नै समाजमा स्थायी शान्ति र आपसी विश्वास कायम गर्ने आधार भएकाले संयमता अपनाउन सबै नागरिकलाई अनुरोध गरेका छन्।




