काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

बिहीबार दिउँसो गोलबजारमा भएको घटनामा स्थानीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो। घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयले तत्काल छानबिन समिति गठन गरेको हो।

प्रहरीका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा गठित समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन्।

समितिलाई घटनाको वास्तविक कारण, प्रहरीको भूमिका, गोली चलाउनुपरेको अवस्था तथा घटनाका सम्पूर्ण पक्षको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।

प्रहरी संगठनभित्र अनुसन्धान क्षमता, निष्पक्ष कार्यशैली र व्यावसायिक दक्षताका कारण एसपी भेषराज रिजाललाई सक्षम अनुसन्धान अधिकृतका रूपमा चिनिन्छ। जटिल प्रकृतिका घटनाको अनुसन्धानमा उनको अनुभवलाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालयले छानबिनको जिम्मेवारी उनको नेतृत्वमा दिएको बताइएको छ।

मृतक गणेश यादवको मृत्युको घटनालाई लिएर स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय