
रूपन्देही । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङको पहलमा अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस–२०२६ को अवसरमा रूपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा वृहत् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
साउन १४ गते आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा व्यापक छलफल गरिएको थियो। इलाका प्रहरी कार्यालय रुद्रपुरको आयोजनामा सम्पन्न कार्यक्रम कञ्चन गाउँपालिका, सामुदायिक विकास केन्द्र, कञ्चन साथी सञ्जाल तथा हरैया बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले गरेका थिए। प्रमुख जिल्ला अधिकारी विशिष्ट अतिथि तथा कञ्चन गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। गाउँपालिकाका उपाध्यक्ष, पूर्व अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसंस्था, शैक्षिक क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय गरी करिब ४ सय जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण प्रहरी निरीक्षक प्रशान्त तामाङको प्रस्तुति बन्यो। मानव बेचबिखनका बदलिँदा स्वरूप, अन्तर्राष्ट्रिय प्रवृत्ति, अपराधीहरूले अपनाउने नयाँ रणनीति तथा त्यसबाट बच्ने उपायबारे उनले सरल र तथ्यपरक प्रस्तुति दिएका थिए।
प्रहरी निरीक्षक तामाङले सन् २०२४ को अक्टोबरमा सर्बियाको बेलग्रेडमा आयोजित १२औँ इन्टरपोल ग्लोबल ह्युमन ट्राफिकिङ एन्ड माइग्रेन्ट स्मगलिङ कन्फ्रेन्स मा नेपालको प्रतिनिधित्व गरेको अनुभव पनि सहभागीहरूसँग साझा गरे। विश्वका एक सयभन्दा बढी देशका प्रहरी अधिकारी सहभागी भएको उक्त सम्मेलनमा उनले नेपालको अवस्था, चुनौती र प्रयासबारे प्रस्तुति दिएका थिए।
उनले मानव बेचबिखन नियन्त्रणमा नेपाल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्युरो, माइती नेपाल, शक्ति समूहलगायत सरकारी तथा गैरसरकारी निकायबीचको समन्वय अत्यन्त आवश्यक रहेको बताए। संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यले मात्र यस्ता अपराध प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।
प्रस्तुतिमा वैदेशिक रोजगारी, भ्रमण, अध्ययन, विवाह, मोडलिङ, अनलाइन जागिर तथा आकर्षक आम्दानीको प्रलोभन देखाएर हुने मानव बेचबिखनका घटनाबारे विशेष चेतावनी दिइएको थियो। कुनै पनि अवसरको नाममा विदेश जानुअघि कानुनी प्रक्रिया, सम्बन्धित संस्था तथा आवश्यक कागजातको राम्रोसँग पुष्टि गर्न सहभागीहरूलाई आग्रह गरिएको थियो।
त्यसैगरी मानव अंग बेचबिखन, बालबालिका तथा महिलामाथिको बेचबिखन, जबर्जस्ती श्रम, यौन शोषण, साइबर माध्यमबाट हुने ठगी तथा विदेश लैजाने बहानामा हुने अपराधबारे समेत जानकारी दिइएको थियो। शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई सूचना दिन सहभागीहरूलाई अनुरोध गरिएको थियो।
कार्यक्रमको समापन गर्दै जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले मानव बेचबिखन विश्वकै गम्भीर संगठित अपराधमध्ये एक भएकाले यसको नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए। उनले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिए।
एसपी शाहीले कार्यक्रमको सफल आयोजना तथा प्रभावकारी प्रस्तुतिका लागि प्रहरी निरीक्षक प्रशान्त तामाङको खुलेर प्रशंसा गरे। मानव बेचबिखन अनुसन्धान क्षेत्रमा हासिल गरेको अनुभव र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै तामाङले उत्कृष्ट कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो।
भर्खरै इलाका प्रहरी कार्यालय रुद्रपुरको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक तामाङले छोटो अवधिमै शान्ति सुरक्षा सुदृढ गर्नुका साथै स्थानीय तह, विभिन्न निकाय र समुदायसँग समन्वय गरेर जनमुखी प्रहरी सेवा विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।




