
जनकपुर — नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशन स्थल, धनुषामा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइतेहरूमा एमालेका नेता सत्यनारायण महासेठ र महेश दाससहित अन्य कार्यकर्ताहरू छन्। महासेठ र दासको टाउको फुटेको बताइएको छ।
झडपका क्रममा निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत कुटिएका छन्। विवाद अधिवेशनको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव पक्ष र लक्ष्मीनारायण यादव पक्षबीच भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार झडपको बेला कुर्सी हानाहान समेत भएको थियो। केही नेताकार्यकर्ताले निर्वाचन समितिमाथि कुर्सी प्रहार गरेका थिए।
भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठको समूहबाट अध्यक्षका प्रत्यासी हुन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा छन्। दुवै पक्षबीच बिहानैदेखि तनाबपूर्ण अवस्था देखिएको थियो।
गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा प्रवेश गरिएको थियो। सोमबार राति उम्मेदवार मनोनयन दर्ता सम्पन्न भए पनि अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद चुलिएको एक नेताले जानकारी दिए।
स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको छ।



