
काठमाण्डौं—काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राजसंस्था पुनःस्थापनाको संयुक्त जनआन्दोलन समितिद्वारा तोकिएका जनकमान्डर दुर्गा प्रसाईंको स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्न आदेश दिएको छ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंसहित २५ जनालाई थप पाँच दिनसम्म हिरासतमा राख्न अनुमति दिँदै, प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारको व्यवस्था मिलाउन भनेको हो।

इजलास समक्ष उपस्थित हुँदा प्रसाईंले आफू क्यान्सरको बिरामी रहेको बताएका थिए। उनले यसअघि पनि साधारण तारिख वा हाजिर जमानीमा रिहाइको माग गर्दै निवेदन दिएका थिए।
यसअघि अर्का इजलासले समेत उपचारको व्यवस्था गर्न आदेश दिइसकेकोमा, आइतबार न्यायाधीश कार्कीको इजलासले पुनः आदेश दिँदै भन्यो, “प्रसाईंको स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नू।”
साथै, आदेशमा प्रसाईंको मागअनुसार हाजिर जमानी वा साधारण तारिखमा छोड्न नमिल्ने स्पष्ट गरिएको छ।



