काठमाण्डौं—प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले संगठनको कार्ययोजना, नीति र लक्ष्यलाई केन्द्रमा राख्दै आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित निर्देशन कार्यक्रममा हालै सरूवा र काजमा परेका प्रहरी उपरीक्षकहरूलाई सम्बोधन गर्दै आईजीपी थापाले राष्ट्र र जनताको सुरक्षामा समर्पित भएर कार्य गर्नुपर्नेमा जोड दिए।

उनले व्यक्तिगत हितभन्दा सांगठनिक हितलाई सर्वोपरि राख्नुपर्ने र “चेन अफ कमाण्ड” भित्र रहेर सामूहिक प्रयासमा संगठनलाई मजबुत बनाउनु आजको आवश्यकता भएको स्पष्ट पारे।

प्रहरी प्रमुख थापाले सरूवा प्रणाली संगठनको आवश्यकता अनुरूप हुने भन्दै, जहाँ जिम्मेवारी दिइन्छ, त्यहाँ नविन सोच, नेतृत्व क्षमता र निष्ठाका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे। उनले प्रहरी अधिकृतहरूलाई आफूलाई “रोल मोडल” का रूपमा स्थापित गर्न आग्रह गरे।

आईजीपी थापाले सुरक्षा व्यवस्थापनमा विद्यमान चुनौतीहरूको गहिरो विश्लेषण गरी, आवश्यक सुरक्षा योजना बनाउँदै सरोकारवालासँगको समन्वय र सहकार्यमा जोड दिए। उनले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गरी जिम्मेवारी कुशलतापूर्वक वहन गर्न आह्वान गरे।

सेवा प्रवाहमा शिष्ट आचरण, सभ्य व्यवहार र सहनशीलता अपनाउन आग्रह गर्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक वर्गका मुद्दाहरूलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

साइबर अपराध, लागूऔषध कारोबार, आत्महत्या, बैंकिङ कसुरलगायतका आधुनिक अपराधहरू नियन्त्रणका लागि विशेष कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसअनुसार प्रहरी परिचालनको निर्देशन पनि दिए।

सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधि र राजस्व चुहावट नियन्त्रणमा प्रहरीलाई अझै जिम्मेवार र सक्रिय हुन उनले आग्रह गरे। साथै हिरासत व्यवस्थापनमा समेत संवेदनशीलता अपनाइ मानवअधिकारमैत्री दृष्टिकोणमा काम गर्न उनले निर्देशन दिए।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपत्यका बाहिर खटिएका प्रहरी उपरीक्षकहरूको भर्चुअल सहभागिता रहेको थियो।

आईजीपी थापाको यो स्पष्ट र प्रेरणादायी निर्देशनले संगठनको समग्र कार्यक्षमता र जनमैत्री सेवा प्रवाहमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय