काठमाण्डौं —“सफा शहर, सुरक्षित जीवन” भन्ने नारासहित आज बुढानिलकण्ठ मन्दिर परिसरमा एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, र रोटरी क्लबको संयुक्त आयोजनामा सम्पन्न यस अभियानले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई सफा राख्न सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, समाजसेवी, प्रहरी कर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले झारपात सफा गर्ने, फोहोर संकलन गर्ने, सचेतनामूलक नारासहित ¥याली आयोजना गर्ने लगायतका गतिविधिमा सक्रिय योगदान दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि, ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख  बिक्रम बि.के.ले भने,- “सडक मात्र होइन, मठमन्दिर र सार्वजनिक स्थलहरू पनि हाम्रो ध्यान दिनुपर्ने क्षेत्र हुन्। आजको अभियानले धार्मिक पर्यटकहरूलाई सकारात्मक सन्देश पुर्‍याउनेछ।”

सामुदायिक प्रहरी तर्फबाट प्रहरी नायब निरीक्षक ध्रुव विक्रम कार्कीले स्थानीय जनसहभागिता नै दीर्घकालीन स्वच्छताको ग्यारेन्टी हुने बताउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

रोटरी क्लबका अध्यक्ष तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवार सुरजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमले समुदायमा सचेतना र स्वाभिमान बढाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूमाझ सरसफाइको महत्वबारे जानकारी दिँदै प्लास्टिकको प्रयोग घटाउन तथा फोहोर व्यवस्थापनमा सावधानी अपनाउन अपिल गरिएको थियो।

सामूहिक उत्साह, सहकार्य र सेवाभावले सम्पन्न भएको यो अभियानले बुढानिलकण्ठ मन्दिर परिसरलाई थप सफा, हरियाली र आकर्षक बनाएको सहभागीहरूले बताएका छन्। साथै, आयोजक टोलीले आगामी दिनमा अन्य धार्मिक तथा सार्वजनिक स्थलहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय