
रूपन्देही, भैरहवा — एपी वान टेलिभिजनका पत्रकार राधेश्याम विश्वकर्मामाथि भएको दुव्र्यवहार तथा आक्रमण प्रयासको विरोधमा लुम्बिनी प्रेस क्लब, रूपन्देहीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। क्लबले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारको न्यायका लागि तीनदिने चरणबद्ध आन्दोलन गर्ने बताएको हो।
बैशाख ८ गते रूपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्ति सहित ७–८ जनाको समूहले पत्रकार विश्वकर्मालाई दुर्व्यवहार गर्दै संचार उपकरण खोसेर भिडियो मेटाउन लगाएका थिए। आक्रमण प्रयासपछि प्रहरीले यादवलाई पक्राउ गरेको बताइएको थियो तर सोही साँझ प्रहरीकै नियन्त्रणबाट यादव फरार भएको जनाइएको छ।

पत्रकारमाथिको आक्रमण र दोषीको उम्किनुमा प्रहरी प्रशासनकै संलग्नता रहेको आरोप लागेपछि क्लबले आन्दोलनको कार्यक्रम अघि सारेको हो। क्लबका सचिव शशि पन्थीले पूर्वपदाधिकारीसहितको बैठकले पहिलो चरणमा तीनदिने आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए।
आन्दोलनको कार्यक्रम यस्तो रहेको छ:
- बैशाख ११ गते (बिहीबार): बिहान १०:१५ देखि ११:१५ सम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना।
- बैशाख १२ गते (शुक्रबार): पत्रकारहरुले कालोपट्टी बाँधेर धर्ना।
- बैशाख १४ गते (आइतबार): संचार सामग्री प्रशासन कार्यालयको गेटमा राख्दै कालोपट्टी बाँधेर धर्ना।
क्लबका अध्यक्ष कमल रायमाझीले दोषीमाथि कारबाही नभए आन्दोलन दोस्रो चरणमा प्रवेश गर्ने र काठमाडौँ केन्द्रित पनि हुन सक्ने चेतावनी दिएका छन्। उनले भने, “न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ।”
यसअघि लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ (रूपन्देही शाखा, लुम्बिनी प्रदेश र केन्द्रीय समिति) लगायत संघसंस्थाले विज्ञप्तीमार्फत दोषीमाथि कारबाहीको माग गरेका थिए।
बुधबार क्लब र महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषी र उनीहरूलाई भगाउन सहयोग गर्ने प्रहरीमाथि कारबाहीको माग गर्दै २४ घण्टाको अल्टिमेटम दिएका थिए। तर, सो अवधिसम्म पनि कुनै कारबाही नभएको भन्दै पत्रकार समाज अझै चिन्तित छ।



