काठमाण्डौं — ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मे १च ३०११ नम्बरको बलेरो गाडी फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा एक्कासि आगलागीमा परेको हो। आगलागी आज (८ वैशाख) बिहान करिब ५ः०० बजे भएको बताइएको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, र गाडी चालक ताप्लेजुङ फुङ्लिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

घाइते हुनेमा ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन्। उनीहरूको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार सडक किनारमा रहेको विद्युत् पोलबाट चुँडिएको तार गाडीमा अल्झिँदा एक्कासी आगलागी भएको हो। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय