काठमाण्डौं प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त टोलीले ठूलो परिमाणको गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मरिनबाट लालबन्दीतर्फ गाँजा तस्करी भइरहेको सूचना पाएपछि प्र.नि. सुजन पाठकको नेतृत्वमा खटिएको टोलीले सर्लाहीको पत्थरकोट चोकमा चेकप्वाइन्ट स्थापना गरेको थियो। त्यही क्रममा बा २० च १७८२ नम्बरको बोलेरो पिकअप गाडी चेकिङ देखेपछि तीव्र गतिमा भाग्न खोजेको थियो।

प्रहरीले गाडीको पीछा गर्दै सर्लाहीको हिरापुरमा सवारी रोकेको थियो। सवारी जाँचका क्रममा धानको भुसको बोरा मुनि लुकाएर राखिएको अवस्थामा रातो प्लास्टिकमा प्याक गरिएको ४५ वटा पोका फेला पारिएको प्रहरीले जनाएको छ। ती पोकाबाट जम्मा २४४.२०० किलो प्रतिबन्धित लागुऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो।

पक्राउ परेका व्यक्ति सर्लाही, लालबन्दी नगरपालिका–१, नवलपुर निवासी २५ वर्षीय सुशिल चौधरी हुन्। उनी बोलेरो गाडीका चालकसमेत रहेको खुलेको छ। चौधरीलाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र थप कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

प्रहरीले लागुऔषध तस्करीजस्ता अपराध नियन्त्रणमा कडाइ गर्ने प्रतिबद्धता जनाउँदै यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय