काठमाडौं | सुरक्षा सरोकार — टोखामा एक महिनाअघि बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासम्बन्धी तस्करी प्रकरणमा संलग्न सिन्धुपाल्चोकका कुसाङ लामा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। मंगलबार उनीविरुद्ध मुद्दा दायर गरिएपछि बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाउने आदेश दिएको हो।

कुसाङविरुद्ध विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २५ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा उनी सो रकमको भरिया मात्रै भएको खुलेको छ। तर, घटनाको मुख्य नाइके भनिएका नारायण पौडेल हालसम्म पनि फरार छन्। कुसाङ र पौडेल दुवैविरुद्ध मुद्दा दायर भए पनि संगठित गिरोहको संलग्नता पुष्टि हुने विस्तृत अनुसन्धान भने हुन सकेको छैन।

एकै व्यक्तिले २५ करोड बराबरको अवैध कारोबार सम्भव नहुने बताउँदै प्रहरीले यसमा ठूलो गिरोह संलग्न भएको शंका व्यक्त गरेको छ।

२०७९ चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा–झोरबाट ना.७ख १६५२ नम्बरको कन्टेनरबाट विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो, जसको नेपाली रूपैयाँमा मूल्य २५ करोड १९ लाख २४ हजार ९५० पुग्थ्यो।

प्रहरीका अनुसार उक्त विदेशी मुद्रा चीनतर्फ सुनको तस्करीको भुक्तानीस्वरूप लैजाँदै गरिएको थियो। रसुवाको केरुङ नाका हुँदै लग्ने तयारीमा रहेको रकम प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि अनुसन्धान कार्यालयले बरामद रकमसहितको प्रतिवेदन सम्बन्धित विभागमा बुझाएको थियो।

तर, घटनाको संगठित प्रकृति देखिए पनि कार्यालयले थप अनुसन्धानका लागि माग गरेको सहयोग प्राप्त नभएको बताइएको छ। मुख्य नाइके पौडेल अनुसन्धान सुरु भएलगत्तै फरार भएका थिए। उनी २० वर्षअघि पनि डलर दुरुपयोगकै आरोपमा जेल परेका थिए। प्रहरीले पौडेलका चारै दाजुभाइ विभिन्न किसिमका अवैध कारोबारमा संलग्न रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय