
सुरक्षा सरोकार / काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका एक युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले विमानस्थलमा कार्यरत तीन प्रहरी कर्मचारीलाई सरुवा गरेको छ।
पछिल्लो तीन दिनयता भाइरल भएको उक्त भिडिओमा एक युवकमाथि अत्यधिक बल प्रयोग गरिएको देखिन्छ।

उपत्यका प्रहरी कार्यालयले घटनामा संलग्न देखिएका तीन जना प्रहरी कर्मचारीलाई विमानस्थलको सुरक्षा जिम्मेवारीबाट हटाई कार्यालयमा झिकिएको जनाएको छ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त कार्यमा सलग्न देखिएका तीन जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइ यस कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिइन्छ।”
उनीहरूलाई अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाउन रानीपोखरी तानिएको प्रहरी स्रोतले जनाएको छ।




