
प्रहरी संस्था कुनै पनि राष्ट्रको विधि शासन र सार्वजनिक सुरक्षाको मेरुदण्ड हो। यसको प्रमुख दायित्व कानुन कार्यान्वयन, शान्ति सुरक्षाको रक्षा, अपराध नियन्त्रण तथा जनताको विश्वासमा आधारित सेवा प्रवाह हो। यस्तो संवेदनशील र जिम्मेवार निकायको नाममा जब “प्रवक्ता” भन्ने शब्द जोडिन्छ, त्यसले केवल सूचनाको माध्यम होइन, एक किसिमको संस्थागत व्यक्तित्व झल्काउँछ। प्रहरी प्रवक्ता भनेको प्रहरी संगठनको अनुहार हो—जसले जनतामाझ प्रहरीको बोली, व्यवहार, उद्देश्य र उत्तरदायित्वलाई प्रतिविम्बित गर्छ।
प्रहरी प्रवक्ता भन्नु–संवेदनशीलता, सत्यता, सन्तुलन र सजगताको समुच्चय हो।

आजको बदलिंदो सञ्चार युगमा, प्रहरी प्रवक्ताको भूमिका केवल प्रेस विज्ञप्ति जारी गर्ने वा पत्रकार सम्मेलनमा उपस्थिति जनाउने काममा सीमित छैन। उनी एक कुशल सञ्चारकर्मी, संकट व्यवस्थापक, सूचनाको संरक्षक, र नागरिक–संस्था सम्बन्ध सुदृढ पार्ने पुलको रूपमा कार्य गर्नुपर्छ।
१. प्रभावशाली सञ्चारदूत
प्रवक्ताको पहिलो र आधारभूत विशेषता हुनुपर्छ—प्रभावशाली सञ्चारदक्षता। उनी प्रहरीको आधिकारिक आवाज हुन्, जसले संस्थाको धारणा बनाउँछ, जनतामा सन्देश पुर्याउँछ र संकटको समयमा सत्यतथ्य बुझाउने भूमिका निर्वाह गर्छ। बोलेका प्रत्येक शब्दमा स्पष्टता, संयमता र जिम्मेवारीको भावना झल्किनुपर्छ। एक असावधानीपूर्वक दिइएको अभिव्यक्तिले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमै प्रहरी संस्थाको विश्वसनीयता गुम्न सक्छ।
२. पारदर्शिता र जवाफदेही नेतृत्व
लोकतान्त्रिक शासनमा पारदर्शिता र जवाफदेहिता अत्यन्त जरुरी मानिन्छ। प्रहरी प्रवक्ताले ‘सूचना दिने’ र ‘संवेदनशीलता कायम राख्ने’ बीचको सन्तुलन बुझ्नुपर्छ। कतिपय अवस्थामा अनुसन्धान प्रक्रियाको गोपनीयता कायम राख्नु जरूरी हुन्छ भने कतिपय अवस्थामा ढाकछोप गर्न खोज्दा अविश्वास पैदा हुन्छ। प्रवक्ता कुनैपनि घटनाको जानकारी लुकाउने होइन, आवश्यक मात्रामा जनतालाई सूचना दिने र संस्थाको विश्वास र गरिमा जोगाउने रणनीतिमा अब्बल हुनुपर्छ।
३. डिजिटल साक्षरता र मिडिया व्यवस्थापन
सामाजिक सञ्जालको प्रभाव तीव्र गतिमा फैलिने वर्तमान युगमा प्रहरी प्रवक्ताको जिम्मेवारी थप जटिल र चुनौतीपूर्ण भएको छ। प्रवक्ताले गलत सूचना र अफवाह विरुद्ध तुरुन्त जवाफ दिन सक्ने, यथार्थप्रति जनतालाई सजग बनाउने र संस्थाको पक्ष प्रस्टसँग राख्न सक्ने क्षमता राख्नुपर्छ। फेसबुक, ट्विटर, टिकटकजस्ता प्लेटफर्ममा प्रहरीसँग सम्बन्धित सामग्रीहरू भाइरल हुँदा, त्यसको खण्डन/प्रमाणन गर्ने संयन्त्र प्रवक्ताले खडा गर्नुपर्छ।
४. व्यावसायिकता, अनुशासन र इमानदारी
प्रहरी प्रवक्ताले उच्च तहको व्यावसायिकता प्रदर्शन गर्नुपर्छ। प्रहरी संगठनभित्रको अनुशासन, नैतिकता र निष्पक्षतालाई उनी आफ्ना शब्द र व्यवहारमा प्रतिबिम्बित गर्न सक्नुपर्छ। कुनै राजनीतिक प्रभाव, व्यक्तिगत पक्षपात वा आर्थिक प्रलोभनबाट टाढा रहेर, संस्थाको स्वाभिमान र नीतिको संरक्षण गर्ने दृढता उनमा हुनुपर्छ।
५. संकट र आपतकालीन अवस्था व्यवस्थापनमा दक्षता
कुनै पनि ठूलो अपराध, प्राकृतिक विपद्, राजनैतिक अस्थिरता वा जनआन्दोलनजस्ता संवेदनशील घडीमा प्रहरीमाथिको जनताको नजर केन्द्रित हुन्छ। यस्ता समयमा प्रवक्ताको संयमित प्रतिक्रिया, सहानुभूतिपूर्ण बोली र यथार्थपरक जानकारी प्रवाहले समाजमा शान्ति कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। संकटको बेलामा आश्वस्त पार्ने, विश्वास दिलाउने र यथार्थ देखाउने प्रवक्ताको सामर्थ्य संस्थाको गहिरो पूँजी हो।
६. अन्तरसम्बन्ध निर्माणकर्ता
प्रहरी संस्था र नागरिक समाजबीच सशक्त सम्बन्ध निर्माण गर्न प्रहरी प्रवक्ताले पुलको काम गर्नुपर्छ। पत्रकार, सामाजिक अगुवा, मानव अधिकारकर्मी, कानुन व्यवसायी र युवासँग सकारात्मक संवाद कायम गरी प्रहरीको छवि सशक्त बनाउन उनी क्रियाशील रहनुपर्छ। यो सम्बन्ध संस्थालाई नागरिकमैत्री र सेवामूलक बनाउने दिशामा अग्रसर गराउँछ।
प्रहरी प्रवक्ता केवल बोलेको ‘वक्तव्य’ होइनन्, उनी प्रहरीको सोच, चेतना र चरित्रका प्रतिनिधि हुन्। उनी संस्थाको अनुहार पनि हुन्, आत्मा पनि। प्रवक्ता प्रभावशाली, इमानदार, निडर र नागरिकप्रति उत्तरदायी हुँदा प्रहरी संस्थामाथि जनताको विश्वास बलियो हुन्छ। नत्र, संचारमा कमजोरी आएर झूट, अफवाह र भ्रमले समाजमा नकारात्मक धारणा बस्ने खतरा रहन्छ।
आजको युगमा प्रहरी प्रवक्ताको भूमिका सूचना अधिकारी मात्र नभई सामाजिक मनोविज्ञ, राजनैतिक समीक्षक, र समन्वयकको जस्तै बहुआयामिक हुनुपर्छ। प्रहरी संस्थाको छविलाई जन–मैत्री, पारदर्शी र न्यायपूर्ण बनाउने प्रमुख आधार प्रवक्ताको कार्यशैलीमै निर्भर हुन्छ।



