
काठमाडौं — काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको संयुक्त आयोजनामा ‘औषधिजन्य लागूऔषध दुरुपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम’ शनिबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम लागूऔषध विरुद्धको महाअभियान अन्तर्गत आयोजना गरिएको हो, जसको प्रमुख आतिथ्य काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङ रहेका थिए।

वर्तमानमा लागूऔषध दुरुपयोग र ओसारपसार दिनानुदिन बढिरहेको अवस्थामा त्यसको न्यूनीकरणका लागि प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै एआईजी तामाङले सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समाजमा जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ, वरिष्ठ हृदय रोग विशेषज्ञ डा. ओम मूर्ति अनिललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सोही अवसरमा एआईजी तामाङ र अध्यक्ष श्रेष्ठबीच लागूऔषध विरुद्ध आपसी सहयोग, समन्वय तथा सहकार्यसम्बन्धी समझदारीपत्र आदान–प्रदान समेत गरिएको थियो।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले लागूऔषधको परिचय, असर, वर्गीकरण, ओसारपसारका तथ्याङ्क, कानुनी व्यवस्था तथा औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो। स्वागत मन्तव्य एसएसपी शेखर खनालले दिनुभएको थियो।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक, नेपाल औषधि व्यवसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका सदस्य, औषधि व्यवसायी, प्रहरी अधिकृत तथा जवानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सामूहिक पहल र जनचेतनामार्फत लागूऔषधको दुरुपयोग नियन्त्रण गर्नुपर्ने सन्देश कार्यक्रममार्फत उजागर गरिएको थियो।




