
काठमाण्डौं—नेपाल प्रहरीले तीनकुने घटनासम्बन्धी तथ्यपरक सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ। आइतबार एक सार्वजनिक सूचना जारी गर्दै प्रहरीले तोडफोड, आगजनी, लुटपाट तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानका लागि प्रमाण सङ्कलन गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी फोटो, भिडियो वा संलग्न व्यक्तिहरूको विवरण उपलब्ध गराउन सकिनेछ, र सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिनेछ।

शुक्रबार तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो भने अराजक भीडले तोडफोड, आगजनी र लुटपाट गरेको थियो। उक्त घटनामा संलग्न भएको आशंकामा १०० भन्दा बढीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




