
काठमाण्डौं— कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गर्नुभएको छ।
आजको भ्रमणका क्रममा कार्यालय भवन, मेस, सम्पूर्ण शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

डीआईजी अधिकारीले इलाम जिल्ला पर्यटकीय तथा धार्मिक स्थल भएकोले यहाँको शान्ति सुरक्षा मजबुत बनाउन, अपराध नियन्त्रण गर्न तथा प्रहरी सेवाको पहुँच नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न अहोरात्र प्रहरी परिचालन गरी कडाइका साथ चेकजाँचको व्यवस्था गर्न तथा चेतनाको कमीका कारण हुने घटना–दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो।
निरीक्षण भ्रमणको क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी उपरीक्षक (एसपी) एक नारायण कोईराला सहित लामो समयदेखि विभिन्न इकाईमा उत्कृष्ट सेवा पुर्याएका प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो। यस क्रममा जिल्ला प्रहरी प्रमुख एसपी कोईरालाले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना तथा सुरक्षा चुनौतीहरूबारे जानकारी गराउनुभएको थियो।




