
काठमाण्डौं— समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत द न्यु समिट सेकेन्डरी स्कुल, प्रहरी वृत्त वानेश्वर, सामुदायिक विकास तथा सेवा समिति, सामुदायिक प्रहरी सेवा केन्द्र वानेश्वर, र काठमाडौं महानगरपालिका वडा नं. ३१ वडा कार्यालयको संयुक्त आयोजनामा ‘सुरक्षित उपत्यका’ महाअभियान अन्तर्गत लागु औषध विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
द न्यु समिट सेकेन्डरी स्कुलको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम विद्यालयका अध्यक्ष अजय प्रसाद ढकालको अध्यक्षता तथा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि एसएसपी विश्व अधिकारीले शान्ति, सुरक्षा र न्याय समाज विकासका महत्वपूर्ण आधार भएको बताउँदै, लागु औषध विरुद्धको लडाइँमा सबै सरोकारवाला पक्षहरुको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, समाजलाई लागु औषधको दुष्प्रभावबाट जोगाउन, यससँग सम्बन्धित अपराधमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति गर्न आम नागरिकलाई प्रहरीले सहयोग गर्न आग्रह गर्नुभयो।
उहाँले समृद्ध नेपालको परिकल्पना बिना लागु औषधमुक्त समाज सम्भव नभएको बताउँदै, लागु औषध दुर्व्यसन समाजको समग्र विकासका लागि प्रमुख बाधक बनेको उल्लेख गर्नुभयो। यसै सन्दर्भमा, विद्यालय र शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको औंल्याउँदै, विद्यार्थीहरुलाई असल नागरिक बन्न प्रेरित गर्न शिक्षण संस्थाहरुले योगदान दिनुपर्ने बताउनुभयो।
समाजको जिम्मेवारी : लागु औषध विरुद्ध एकताबद्ध अभियान
कार्यक्रमका अन्य वक्ताहरुले नेपाल प्रहरी, स्थानीय निकाय, शैक्षिक संस्था, नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाहरुले लागु औषध विरुद्ध एकताबद्ध भएर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। उपस्थित सम्पूर्ण सहभागीलाई ‘सुरक्षित उपत्यका’ महाअभियानमा सक्रिय सहभागिता जनाउँदै लागु औषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।




