
काठमाण्डौं—सर्लाहीको सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोट बनाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, -बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, र सोही ठाउँकी ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारततर्फबाट नेपाल आउँदै गरेका उनीहरूलाई सूचना आधारमा निगरानी राखी पक्राउ गरिएको हो। बा।४७ प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली नक्कली एक हजार दरको नोटहरू तलमाथि एकरएकवटा राखेर बीचमा सेतो पेपर राखी बनाइएको ८८ बण्डल बरामद गरिएको छ। ती बण्डलबाट नक्कली नेपाली रुपैयाँ १ लाख ७६ हजार फेला परेको हो।
पक्राउ परेकाहरूलाई मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिए।



