काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आजबाट पुनः सुरू हुँदैछ। काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी सो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी तोकिएको छ।

सापकोटाविरुद्ध अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा, र कुमार चुडाल सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ।

यसअघि, २०८० असोज ९ गते सर्वोच्चले हालसम्मको अनुसन्धान प्रगति विवरण माग गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, र कुमार रेग्मीको इजलासले अनुसन्धानको विवरण झिकाउन आदेश दिएको थियो।

२०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझस्थित कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो। तत्कालीन समयमा काभ्रेको माओवादी नेतृत्वमा रहेका सापकोटाको संलग्नता रहेको दाबी पीडित पक्षले गर्दै आएको छ।

सर्वोच्च अदालतले २०६८ असार ७ गते पूर्णिमाया लामाको जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राख्न आदेश दिएको थियो। अदालतले अनुसन्धान निष्पक्ष रूपमा अगाडि बढाउन निर्देशन दिँदै, हरेक १५-१५ दिनमा प्रगति प्रतिवेदन पेश गर्न आदेश गरेको थियो।

यसअघि, तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। सोही मुद्दामा अग्निप्रसाद सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेलले समेत सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय