
काठमाडौं — प्रहरीको घुमुवा हुँ भन्दै व्यापारीहरूसँग रकम असुली गरिरहेका एक व्यक्ति सक्कली प्रहरीको फन्दामा परेका छन्।
रौतहटस्थित जिल्ला प्रहरी कार्यालयको घुमुवा हुँ भन्दै पैसा असुल्दै गरेका गरुडा नगरपालिका-८, बिर्ता गाउँका ४४ वर्षीय शेख सदरे आलमलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहट प्रहरीले आलमलाई गौर-चन्द्रनिगाहपुर सडकखण्डको बिर्ता चौकमा किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको अवस्थामा पक्राउ गरेको हो।
घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले आलमलाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



