काठमाण्डौं— रौतहट जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै एकै दिन १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न आपराधिक घटनामा संलग्न भई जिल्ला अदालत गौरबाट दोषी ठहर भए पनि फरार रहेका उनीहरूलाई प्रहरीको विशेष सक्रियतामा यही आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार अदालतबाट दोषी ठहर भई कानुनी सजाय तोकिए पनि लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई प्रहरीले आफ्नै संयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दामा दोषी ठहर भएका प्रेम राना, सागर अर्याल, बिन रानामगर (किरण रानामगर) र सन्तमान लामा (सञ्चर रानामगर) रहेका छन्। वन मुद्दामा फरार रहेका शम्भु चौधरी, किशोरी चौधरी (नन्दकिशोर चौधरी) र वीरेन्द्र चौधरी तथा जुवा मुद्दामा दोषी ठहर भएका किशोरकुमार चौधरी, रामादिनेश साह र शिवराज अधिकारी क्षेत्री पक्राउ परेका छन्।

त्यसैगरी, कुटपिट मुद्दामा दोषी ठहर भएका शुभनारायण साह र कमल साह तेली तथा सम्बन्ध विच्छेद मुद्दाका प्रतिवादी महमद असलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रौतहट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा चालु आर्थिक वर्षमा मात्रै ४०० भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय