काठमाडौं – नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आईजिपी) वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। उनीसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई पनि सेवा निवृत्त हुँदैछन्।

कुँवरसहित अवकाशमा जाने अधिकृतहरू २०५१ साल चैत ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए। बाँकी रहने तीन जना एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ २०५२ साल भदौ ११ गते प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका वैकल्पिक ब्याचमेट हुन्।

यसबीच, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश गरेका छन्। विधेयक पारित भएमा प्रहरी सेवामा ३० वर्षे सेवा अवधि हटाइने छ, तर यसको कार्यान्वयनको समय सुनिश्चित भइसकेको छैन। प्रहरी अधिकृतहरूका अनुसार यो विधेयक लागू हुने समय आर्थिक वर्ष २०८२/८३ बाट हुन सक्ने अनुमान छ।

यदि विधेयक लागू भएमा चैत ५ गतेपछि नियुक्त हुने प्रहरी महानिरीक्षकको कार्यकाल केही समय लम्बिन सक्नेछ। तर, विधेयक पारित नहुँदा नयाँ आईजिपीको कार्यकाल करिब ६ महिना मात्र रहनेछ।

आईजिपीको प्रमुख दावेदार को?

नेपाल प्रहरीको नेतृत्व सम्हाल्नका लागि प्रमुख प्रतिस्पर्धीका रूपमा एआईजी दीपक थापा अग्रस्थानमा छन्। उनीभन्दा पछि सुदीप गिरी र टेकबहादुर तामाङ छन्। थापाले सबै राजनीतिक शक्तिसँग सुमधुर सम्बन्ध राखेका कारण उनलाई एकल दाबेदारका रूपमा हेरिएको छ।

प्रहरी नेतृत्वमा वरिष्ठता प्राथमिक आधार मानिए पनि, विगतमा राजनीतिक शक्तिकेन्द्रको प्रभावले कनिष्ठ अधिकृतले आईजिपी पद पाएको उदाहरणहरू छन्। धीरजप्रताप सिंहको आईजिपी नियुक्ति त्यसको उदाहरण हो, जसले आफ्ना वरिष्ठ सहकर्मी विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पछि पारेका थिए।

थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख छन्। यसअघि उनले उपत्यका प्रहरी कार्यालयको नेतृत्व गरेका थिए। डिआईजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा काम गरेका थिए।

सुदीप गिरी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत छन्। उनले कोशी प्रदेश प्रहरी प्रमुख र प्रहरी विशेष ब्युरोको नेतृत्व गरिसकेका छन्।

टेकबहादुर तामाङ हाल उपत्यका प्रहरी कार्यालय प्रमुख छन्। यसअघि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा थिए।

नयाँ नेतृत्वको टुंगो कहिले लाग्ने?

नेपाल प्रहरीको नेतृत्व चयनमा प्रहरी विधेयक पारित हुने वा नहुने प्रमुख कारक हुनेछ। यदि विधेयक लागू भए आईजिपीको सेवा अवधि तीन वर्ष रहनेछ, अन्यथा चैत ५ पछि हुने नियुक्ति छोटो अवधिका लागि मात्र हुनेछ।

यसैबीच, प्रहरी संगठनभित्र भने दीपक थापा नै नयाँ आईजिपीका लागि बलियो उम्मेदवारका रूपमा हेरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय