
काठमाडौं — गृह मन्त्रालयले दलित समुदायमाथि हुने भेदभाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी आवश्यक काम कारबाही अघि बढाउन निर्देशन दिइएको छ।

यसअघि ७७ वटै जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए।
मन्त्रालयका अनुसार दलित समुदायका व्यक्तिहरूको सहभागितामा दलित डेस्क स्थापना गरी समाजमा विद्यमान छुवाछुत तथा भेदभाव अन्त्य गर्न, कानुन कार्यान्वयन सशक्त बनाउन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।



