काठमाण्डौं— जिल्लाको उत्तरी क्षेत्रका प्रहरी चौकीमा कुनै पनि उजुरी नपरेको देखिएको छ। प्रहरी पदाधिकारीहरूका अनुसार हिउँदमा चिसोका कारण मानिसहरूको वसोवास कम हुने र बाहिरी व्यक्तिहरूको आवतजावत नहुने भएकाले अपराधजन्य घटना घट्ने सम्भावना न्यून रहन्छ।

यारी प्रहरी चौकीका इन्चार्ज, प्रहरी हवल्दार श्रीराम पार्कीका अनुसार, गत मङ्सिर महिनायता चौकीमा कुनै उजुरी दर्ता भएको छैन। उहाँले प्रहरी चौकीमा ड्युटी गर्ने भए पनि उजुरी नपरेकाले चौकीमा बस्नु मात्र पर्ने अवस्था रहेको बताउनुभयो।

यद्यपि, प्रहरी टोलीले नियमित रूपमा यारीदेखि ह्याङ्सी गाउँसम्म गस्ती गर्ने गरेको छ। हिउँदमा हिल्सा नाकाबाट चीनको ताक्लाकोट जाने-आउने बन्द हुने भएकाले पनि अपराधजन्य घटना घट्ने सम्भावना कम हुने प्रहरीको भनाइ छ।

हाल यारी र दह गाउँमा प्रहरी बाहेक स्थानीय बासिन्दा मात्र बसोबास गरिरहेका छन्। यारी प्रहरी चौकीमा छ जना प्रहरी कार्यरत छन्। विगतमा यारी गाउँमा झगडा हुने गरेको भए पनि हाल अवस्था शान्तिपूर्ण रहेको छ।

यता, सीमा प्रहरी चौकी हिल्साका प्रहरी सहायक निरीक्षक ललितबहादुर रावतका अनुसार, हालसम्म कुनै उजुरी नपरेको छ। हिमपातका कारण सडक अवरुद्ध भएपछि मानिसहरूको आवतजावत रोकिएको छ। प्रहरी नियमअनुसार चौकीमै बस्नुपर्ने भएकाले प्रहरी हिल्सामै रहेका छन्।

स्थानीयको बसोबास घट्दै गएको र अपराधजन्य गतिविधि न्यून भएकाले नाम्खा गाउँपालिका-६ स्थित लिमीको सुनखानी प्रहरी चौकीलाई हिउँदका छ महिनाका लागि जिल्ला केन्द्रमा सार्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय