काठमाण्डौं— वीरगन्जमा प्रहरीले चरेस र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली महिला र एक भारतीय पुरुष रहेका छन्।

प्रहरीले वीरगन्ज–१६ शंकराचार्य प्रवेशद्वारमा चेकजाँच गर्ने क्रममा बाराको प्रसौनी गाउँपालिका-२ बुनियाद स्थायी घर भई हाल वीरगन्ज–१६ बसपार्कमा डेरा गरी बस्ने ३० वर्षीया आरती यादवलाई ११ किलो ४०० ग्राम चरेससहित पक्राउ गरेको हो। पर्साका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार यादव लागूऔषधसहित पक्राउ परेकी हुन्।

यस्तै, सोही स्थानमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारत पश्चिम बंगाल राज्यको नदिया थाना घर भएका २८ वर्षीय राज अधिकारीलाई चरेस र गाँजासहित पक्राउ गरेको छ। उनको साथबाट ६ किलो ३०० ग्राम गाँजा र २ किलो १०० ग्राम चरेस बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए।

हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय