काठमाडौं नेपाल प्रहरी प्रधान कार्यालयका लागि पेचिलो बनेको इन्स्पेक्टर बढुवा प्रक्रिया थाती राख्दै प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर घर बिदामा बसेका छन्।

आईजी कुँवर बिदामा बसेसँगै अन्तिम चरणमा पुगेको बढुवा प्रक्रिया अवरुद्ध भएको प्रहरी स्रोतले जनाएको छ। उनी छोराको फागुन १० गते सम्पन्न हुने विवाह समारोहपछि कार्यालय फर्किनेछन्। तर, बढुवा प्रक्रिया झन् पेचिलो बन्दै गएको प्रहरीका वरिष्ठ अधिकृतहरू बताउँछन्।

नेपाल प्रहरीमा हाल आन्तरिक बढुवाका लागि ५१ इन्स्पेक्टरको दरबन्दी रिक्त छ। यसका लागि २०५५ सालको कात्तिक १ मा भर्ना भएका ५ जना र सोही वर्षको पुस १ मा भर्ना भएकामध्ये ३ जना बलिया दावेदार छन्। त्यस्तै, २०५८ सालमा असईमा भर्ना भई २०६२ र २०६३ सालमा सई भएका ९१ जना वरिष्ठ सई इन्स्पेक्टर बढुवाका निम्ति प्रमुख प्रतिस्पर्धामा छन्। साथै, २०६० सालमा असईमा भर्ना भएका १२५ जना वरिष्ठ सई पनि बढुवा प्रक्रियामा संलग्न छन्।

आईजी कुँवर वरिष्ठताको आधारमा २०५५ र २०५८ सालमा भर्ना भएका असईहरूलाई प्राथमिकता दिँदै बढुवा सूची प्रकाशित गर्नुपर्ने पक्षमा छन्। तर, राजनीतिक दबाबका कारण पछिल्लो समूहलाई पनि बढुवा दिनुपर्ने बाध्यता देखिएको छ। आउँदो चैत ४ गते अवकाशहुन लागेका कुँवरले विवादमा नपर्ने सोचसहित बढुवा प्रक्रियालाई यथास्थितिमै राख्न चाहेको प्रहरी स्रोत बताउँछ।

‘जाने बेलामा विवादमा पर्नुभन्दा त्यत्तिकै छाडिदिउँ भन्ने उहाँको धारणा छ,’ आईजी निकट एक प्रहरी अधिकृतले बताए।

वरिष्ठता मिचिने कि बढुवा प्रक्रिया अघि बढ्ने—

२०५५ सालको कात्तिक र पुसमा भर्ना भएका अधिकृतहरू मध्ये कतिपय एसएसपी भइसकेका छन्, तर सोही ब्याचका ८ जना अझै वरिष्ठ सईकै दर्जामा रोकिएका छन्। सोही समूहबाट प्रहरी र सशस्त्र प्रहरी बलमा २-२ जना एसएसपी, प्रहरीमा २० जना एसपी, ४७ जना डीएसपी, तथा सशस्त्रमा ९ जना डीएसपी भइसकेका छन्।

२०५८ सालमा असईमा भर्ना भई २०६२/२०६३ मा सई भएका ९१ जना वरिष्ठ सई इन्स्पेक्टर बढुवाका प्रमुख दावेदार हुन्। तर, ५१ सीट मात्रै खाली भएकाले कतिपय छुट्ने सम्भावना छ। यसैबीच, २०५८ सालभन्दा २ वर्षपछि भर्ना भएका अधिकृतहरूलाई बढुवा गर्नुपर्ने राजनीतिक दबाब बढ्दै गएको छ।

कमाण्डो तालिम प्राप्त प्रहरी पनि बढुवामा पछि पर्ने ?

सशस्त्र द्वन्द्वकालमा युनिफाइड कमाण्डमा कार्यरत कतिपय प्रहरी अधिकृतहरूले हैदरावाद कमाण्डो तालिम लिएका थिए। तर, पछिल्ला असईहरूले यस्तो अवसर पाएका छैनन्।

‘कमाण्डो तालिम प्राप्त अधिकृतहरूलाई थन्क्याएर मन्त्रीका वरिपरि बसेकाहरूलाई मात्र बढुवा दिँदा संगठनमा असन्तुष्टि बढेको छ,’एक वरिष्ठ प्रहरी अधिकृतले भने।

हाल बढुवाका प्रमुख दावेदार २०५८ सालका असईहरूले २४ वर्ष सेवा अवधि पूरा गरिसकेका छन्, भने सईमा बढुवा भएको पनि १९-२० वर्ष भइसकेको छ। तर, २०६० सालमा भर्ना भएका १२५ मध्ये केहीलाई बढुवा गर्न उच्च राजनीतिक दबाब रहेको प्रहरी स्रोत बताउँछ।

यसअघि मन्त्री, संवैधानिक निकायका पदाधिकारी तथा विशिष्ट व्यक्तिहरूका निजी सुरक्षा अधिकृत (पीएसओ) मध्ये अधिकांश २०६० सालपछि भर्ना भएका असईहरू थिए। २०६० सालमा मात्रै १२५ जना असई भर्ना भएका थिए, जो हाल वरिष्ठ सईका रूपमा कार्यरत छन्।

बढुवा प्रक्रियामा वरिष्ठताको आधार कायम हुने कि राजनीतिक दबाब हावी हुने, त्यसको निर्णय आईजी कुँवर कार्यालय फर्किएपछि मात्रै स्पष्ट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय