
काठमाण्डौं— बागमती प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन खाणले जानकारी दिए।
सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ रुपैयाँ राजस्व संकलन भएको छ। पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र रिडर गनमार्फत सवारी साधनको गति निगरानी गर्दै ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्दै आएको छ।

यस्तै, बागमती प्रदेशका १० जिल्लामा सात महिनाको अवधिमा एक हजार दुई सय ५६ सवारी दुर्घटनामा १७० जनाको मृत्यु भएको छ भने ४६३ जना घाइते भएका छन्।
क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँच कडाइ गरिएको डीएसपी खाणले बताए।



