
काठमाण्डौं— इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक सुरज खत्री आएदेखि नै लागु औषधविरुद्ध आक्रमक रूपमा अभियान सञ्चालन हुँदै आएको छ।
विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ गरी लाखौँ युवालाई लागु औषधको सिकार हुनबाट जोगाएको भन्दै स्थानीय बुद्धिजीवीहरूले प्रहरी निरीक्षक खत्रीको खुलेर प्रशंसा गरेका छन्।

प्रहरी निरीक्षक सुरज खत्रीले विशेष सूचनाको आधारमा तथा शंका लागि चेकजाँच गरी लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्दै कुलतमा परेका सेवनकर्ताहरूको संख्या न्यून बनाउन महत्वपूर्ण भूमिका खेलेको समाजसेवीहरूले बताएका छन्।
केही महिना अघि प्रहरी निरीक्षक सुरज खत्रीको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनलाई “महिनाको उत्कृष्ट प्रहरी” सम्मानसमेत प्रदान गरेको थियो।
ब्राउन सुगरसहित दुई जना पक्राउ—
यसै क्रममा, इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले माघ २८ गते सोमबार दिउँसो करिब ३:३० बजे कृष्णनगर नगरपालिका वडा नं. ०२ लिंकगेट नजिक लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट MH 02 CD 1526 को कारलाई रोकी चेकजाँच गर्दा सोही गाडीमा सवार उत्तर प्रदेश, सिद्धार्थनगर, पोस्ट बढ्नी, ग्राम दुधवानिया बुजुर्ग निवासी ३६ वर्षीय इकरामुद्दीन को शरीर खानतलासी गर्दा १ पुडिया (१०० मिलिग्राम) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, गाडीभित्र थप तलासी गर्दा ५ पुडिया (१६० मिलिग्राम) ब्राउन सुगर, गरी जम्मा २६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ।
घटनामा संलग्न सोही गाडीका चालक, उत्तर प्रदेश, सिद्धार्थनगर, पोस्ट बढ्नी, ग्राम दुधवानिया बुजुर्ग निवासी १९ वर्षीय नसिम खान र इकरामुद्दीनलाई पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरिएको हिरासतमा राखिएको छ ।



