
काठमाडौं — प्रहरीले राजधानीमा गुन्डागर्दीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरू सामाजिक सञ्जालमा खुकुरी देखाउने लगायत उच्छृंखल गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा पक्राउ गरिएको हो। प्रहरीले यस्तै गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको सूचीसमेत तयार पारेको जनाएको छ।

प्रहरीको ‘हिट लिस्ट’मा को-को?
उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराधमा संलग्न ४५ जना गुन्डागर्दी समूहको सूची बनाएको छ। तीमध्ये चर्चित नामहरू निम्नानुसार छन्:
• सानो भर्याङ: मिलन गुरुङ (चक्रे मिलन)
• धादिङ: राधाकृष्ण भण्डारी (राधे)
• कलंकी: अभिषेक सिंह
• न्युरोड: बब शर्मा
• ठमेल: सानुकान्छा गुरुङ, साजन गुरुङ
• बालाजु: दिपेश धिताल
• बसपार्क: सुरेश डंगोल, युवराज गुरुङ (सानुभाइ)
• बौद्ध: श्याम लामा
• गौशाला: धिरेन प्रधान
• ललितपुर: राजु बोगटी
प्रहरीका अनुसार चक्रे मिलन, राधे भण्डारी, श्याम लामालगायतले सामाजिक सञ्जालमा समूह बनाएर उच्छृंखल गतिविधि देखाइरहेका छन्। उनीहरूमाथि प्रहरीले निगरानी बढाएको छ। पक्राउ परेका सात जनासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



