
काठमाडौँ— प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
बुधबार गौशाला प्रहरीमा कार्यरत महिला प्रहरी निशा चौधरी ब्यारेकको पंखामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिल बोहराले घटनाको पुष्टि गर्दै थप अनुसन्धान सुरु भएको जानकारी दिएका छन्।

विहान ५ बजे शालीनदी मेलाको ड्युटीमा गएकी हुन विहानको खाना खान व्यारेक पुगेकी थिईन। उनीसँगै व्यारेकको एकै कोठामा थप दुई महिला प्रहरी बस्ने गरेका थिए। अरुले शालीनदी मेला व्यवस्थापन समितिको मेसमा खाना खाए। तर, चौधरीले त्यहाँको खाना नखाई व्यारेकमै खाने भनी गएकी थिइन्।
मेलाको मेसमा खाना खाएर फर्किएका दुई महिला प्रहरीले लामो समयसम्म ढोका ढकढक्याउँदा पनि नखुलेपछि आल्मुनियमको झ्याल खोलेर हेरेका थिए। त्यसबेला उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।



