काठमाण्डौं— झापाको कनकाई नगरपालिका-४ मा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

मंगलबार साँझ कनकाई-४ मा लागुऔषध लुकाएर राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गर्न खोजेको थियो। तर, भाग्न खोजेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि भाग्न नछाडेपछि दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारत डिघलबैंकका अञ्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन्। अञ्जार आलमको खुट्टामा दुई गोली लागेको छ भने युसुफलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते आलमलाई उपचारका लागि कनकाई नगर अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी कृष्ण चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय