
काठमाडौँ — जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन्।
मंगलबार प्रहरी वृत्त, बौद्धको निरीक्षण गर्ने क्रममा उनले गीताको अध्याय ४, श्लोक ८ उल्लेख गर्दै ‘‘विनाशाय च दुष्कृताम्’’ भनिएझैँ, दुष्कर्म गर्नेहरूसँग कठोर रूपमा प्रस्तुत हुन निर्देशन दिए।

प्रहरी सेवामा आउने हरेक नागरिकलाई समान रूपमा महत्त्व दिनुपर्ने बताउँदै उनले गलत प्रवृत्तिविरुद्ध दृढतापूर्वक लड्नुपर्ने धारणा राखे।
“सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका समस्यालाई महत्त्वपूर्ण रूपमा लिनुपर्छ,” उनले भने, “तर, अपराधी प्रवृत्तिविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्छ।”
सेवाग्राहीका लागि प्रहरी सहयोगी बन्नुपर्ने तर अपराधीहरूसँग कठोर नीति अपनाउनुपर्नेमा उनले जोड दिए। “त्यस्ता व्यक्तिविरुद्ध प्रहरीले शून्य सहनशीलताको नीति अपनाउनुपर्छ,” अधिकारीले भने।
यस्तै, एक प्रहरीको गलत कामले सिंगो संगठनमाथि प्रश्न उठ्ने भएकाले संगठनभित्रै रहेका विकृति हटाउनुपर्ने उनको भनाइ थियो। साथै, प्रहरी जवानहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अधिकारीले उनीहरूको मनोबल उच्च राख्न अधिकृतहरूले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।



