
सर्लाही – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीबाट ११० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास तथा अस्थायी प्रहरी पोस्ट परवानिपुरसहितको संयुक्त प्रहरी टोली प्र.नि. सुजन पाठकको कमाण्डमा खटिएको थियो। खोजतलासका क्रममा कालिन्जोर खोलाको उत्तरपट्टि काँसघारीमा रातो प्लास्टिकले बेरी प्लास्टिकको डोरीले बाँधिएका २२ वटा पोका फेला परेको प्रहरीले जनाएको छ।

प्रत्येक पोका खोल्दा ५/५ केजीको दरले जम्मा ११० केजी गाँजा फेला परेको हो। जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा उक्त गाँजा बरामद गरिएको छ। गाँजा कसले राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



