
काठमाडौं। गृहमन्त्री रमेश लेखकले सुशासन प्रवद्र्धन, सहज सेवा प्रवाह, र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको बताउनुभएको छ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्रीले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्र आवश्यक रहेको स्पष्ट गर्नुभयो।
उहाँले नागरिकको जैविक तथा व्यक्तिगत विवरणको सुरक्षामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै ती विवरणको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “नागरिकको व्यक्तिगत विवरण राज्यसँग रहनुपर्छ, तर यसको दुरुपयोग हुन दिइनेछैन,” गृहमन्त्रीले भन्नुभयो। “डेटा सुरक्षामा सरकार अत्यन्तै सजग छ।”
गृहमन्त्री लेखकले गहन अध्ययनपछि अघि सारिएको राष्ट्रिय परिचयपत्र कार्यक्रमको कार्यान्वयन अनिवार्य रहेको जनाउँदै ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका र अशक्त व्यक्तिका हकमा भने परिचयपत्र अनिवार्य नगरिएको स्पष्ट गर्नुभयो। साथै, उहाँले सांसदहरूलाई विवरण सङ्कलन, प्रशोधन, र छपाई प्रक्रिया तथा तथ्याङ्कको सुरक्षामा जनविश्वास स्थापित गर्न भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
सुरक्षामा सांसदहरूको चासो
बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेका नागरिकका व्यक्तिगत तथा जैविक विवरणको सुरक्षाप्रति गहिरो चासो व्यक्त गर्नुभयो।
सांसद हृदयराम थानीले नागरिकको व्यक्तिगत विवरण सुरक्षामा सरकारले विशेष संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो। सांसद सरिता प्रसाईंले तथ्याङ्क सुरक्षाको ग्यारेन्टी गर्न नागरिकलाई आश्वस्त पार्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय परिचयपत्रको महत्वबारे आमनागरिकलाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। सभापति रामहरि खतिवडाले परिचयपत्र कार्यान्वयनका क्रममा देखिन सक्ने समस्यालाई समाधान गर्न प्रक्रिया सरलीकृत गर्न सरकारलाई निर्देशन दिनुभयो।
परिचयपत्र लागू गर्ने प्रक्रिया सार्वजनिक
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले राष्ट्रिय परिचयपत्र लागू गर्ने सन्दर्भमा भएका गतिविधिबारे बैठकमा जानकारी गराउनुभयो।
सरकारले राष्ट्रिय परिचयपत्र प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि तयारी अघि बढाएको छ।



