
काठमाडौं – नेपाल प्रहरीका केही एसएसपीको सरुवा भैसकेको छ। गृह मन्त्रालयले लागुऔषध नियन्त्रण ब्यूरोमा सुदर्शन कोइराला र नेपालगञ्ज तालिम केन्द्रमा नान्नतीराज गुरूङलाई काज खटाएको छ। यसअघि ब्यूरोमा कार्यरत दिनेश आचार्य र नेपालगञ्ज तालिम केन्द्रका राजेन्द्रप्रसाद भट्ट डीआईजीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो।
यससँगै काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध महाशाखामा नयाँ नेतृत्व आउन लागेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरे र अपराध महाशाखा प्रमुख सानुराम भट्टराईलाई सरुवा गर्दै— एसएसपी विश्व अधिकारी वा भैरहवा विमानस्थल सुरक्षा प्रमुख रमेश बस्नेतमध्ये एकजनालाई काठमाडौं परिसर र अर्को जनालाई अपराध महाशाखामा खटाउने तयारी छ।

महाशाखा र परिसर दुवै युनिट महत्वपूर्ण सुरक्षा जिम्मेवारी बोकेका छन्। काठमाडौं परिसरले जिल्लाको सुरक्षा सम्हाल्छ भने अपराध महाशाखाले उपत्यकाको सुरक्षा रणनीति सञ्चालन गर्छ। यी युनिट प्रहरी अधिकारीहरूको लागि चुनौतीपूर्ण र आकर्षक जिम्मेवारी मानिन्छ।
गृह मन्त्रालयले हालै एसएसपीमा सिफारिस भएका २५ एसपीको बढुवासँगै पदस्थापन र सरुवाको अन्तिम तयारी गरिरहेको छ।



