काठमाडौं– सत्ता समीकरण बदल्नासाथ दोस्रो पटक चार महिने कार्यकालमा नै उपप्रधान र गृहमन्त्री पद खुस्किएपछि रास्वपा सभापति रवि लामिछानेले सदनमा भनेका थिए,‘ ‘३ महिने कार्यकालमा उद्घाटनमा समय दिन आवश्यक ठानिन तर मैले नेपालगन्जमा जेल उद्घाटन गरेको छु। त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ।’

कांग्रेस–एमालेबीच सत्ता समीकरण बनेपछि अल्पमतमा रहेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मत दिने क्रममा लामिछानेले यसो भनेका थिए। ‘अब ठग प्रमाणित गर्नुहोस् मलाई त्यहि जेलमा राख्नुहोस्’, उनको चुनौती थियो।

लामिछानेले उद्घाटन गरेको जेलचाहिँ नेपालगन्जमा नभई बाँकेको नौबास्तामा तीन अर्बको लगानीमा बनेको जेल हो। जसलाई सुधार गृह पनि भनिन्छ।

देशका विभिन्न बाल सुधारगृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राखिन्छ।

विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष नाघेका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि उनीहरूलाई नौबस्तास्थित क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको थियो। यहाँ अन्य प्रकारका अपराधी राखिने गरिएको छैन।


देशका विभिन्न बाल सुधारगृहबाट १८ वर्षमाथिका ४६ जना बालबन्दीहरुलाई नौवस्ता क्षेत्रीय कारागारमा लगेर पहिलो चरणमा राखिएको थियो।

१८ वर्षमाथिका बालबन्दी रहने बाल सुधारगृह सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नासु स्तरको कर्मचारी खटाइएको छ। सोही जेल लामिछानेले उद्घाटन गरेका थिए। त्यहाँ उनको शिलालेख छ।

बैजनाथस्थित नौवस्ता क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको छ। अन्य तीन वटा ब्लकमा भने नेपालगन्जस्थित पुरानो कारागारका कैदीहरूलाई स्थानान्तरण गरिन्छ।

१८ वर्षभन्दा मुनिका बालक तथा किशोरलाई बाल सुधारगृहमा राख्ने भनिए पनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई पनि एकै ठाउँमा राख्ने गरिएको थियो।

उमेर समूह नमिलेका किशोर १८ नाघेका युवाहरूबिच बाँके, ललितपुरलगायत देशका विभिन्न ठाउँमा तनाव हुन थालेपछि सरकारले उनीहरूलाई छुट्टै ठाउँमा राख्न सुरु गरेको बताइएको छ।

बाँकेदेखि भक्तपुरसम्मका बाल सुधार गृहमा विभिन्न चरणमा घटना घटाइएपछि उक्त जेल निर्माण गरिएको थियो।

नौ विगाह क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ। देशभरिकै कारागारमा कैदी बन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय