
काठमाण्डौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ ।
बिहीबार काठमाडौँमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरेले ‘नो हर्ज प्लीज’ अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०७३ सालमा ‘नो हर्ज प्लीज’ अभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनता चेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसकेको बताए । भक्तपुरदेखि काठमाडौँसम्म द्रुतबसको सेवा सुरुगरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए । उनले यातायात क्षेत्रलाईसुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
नियमले समस्या निम्त्याएको चालकको गुनासो
काठमाडौंको सडकलाई कतिले विदेशको उदाहरण दिँदै प्रशंसा गरे भने कतिले नयाँ नेपालको परिकल्पना गरे । तर यात्रुलाई बाटो छाडेर सवारी साधन चलाउन बाध्य चालकहरु भने हर्न बजाउन नपाउने नियमले समस्या निम्त्याएको गुनासो गर्छन् ।
रत्नपार्कदेखि लगनखेलको रुटमा म्याक्रो चलाउने चालक बाबुराम खड्का हर्न बजाउन प्रतिबन्ध लगाएपछि अनावश्यक रुपमा नबजाएको बताउँछन् । अनावश्यक रुपमा हर्न बजाउन कम गरेपनि यात्रुले बाटो नछोड्दा समस्या हुने गरेको उनको भनाई छ । “हर्न बजाको छैन अहिले त, तर बाटोमा हिँड्ने मान्छेले बाटै छोड्दैनन्” – खड्काले भने । हामीले फेरी उनलाई प्रश्न गर्यौ – “त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?” उनको जवाफ थियो – “अबु त्यो बेलामा त साइड लाइट बाल्छु अनि बिस्तारै चलाउँछु त्यै नै हो ।” खड्काको मात्र हैन अर्का चालक जुलाब ठकोरको भनाई पनि यस्तै छ । लगनखेलदेखि कालीमाटीको रुटमा टेम्पो चलाउने उनी यात्रुले बाटौ नै नछोड्दा हैरान भएको सुनाउँछन् ।
“मान्छेले बाटो नै छोड्दैन, अनि अप्ठ्यारो लाग्छ के, हर्न बजाउन पाउँदैन, बजायो भने फेरी ट्राफिकले समात्छ ।” – उनले टाउको कन्याउँदै भने । हामीले प्रश्न गर्न नपाउँदै उनले फेरी थपे – “राम्रो त हो हैन तर हामीलाई भने ट्याम्पु चालाउनै आली गाह्रो भइराको छ ।”
आकस्मिक सेवाका दमकल, एम्बुलेन्स, प्रहरीका साधनहरुमा भने यो नियम लागू हुने छैन् । यसरी नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को (ग) बमोजिम कारवाही गरिने छ । हर्न प्रयोगमा लागेको प्रतिबन्ध तोडेर कुनै सवारी साधनले हर्न बजाएमा पहिलो पटक ५ सय र दोस्रो पटक एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।



