
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक पोषण थापाको शब्द रचनामा तयार भएको नयाँ गीत ‘महल चाहिँदैन’ सार्वजनिक भएको छ। गीत Poshan Thapa नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै यसको शब्द, संगीत, स्वर र अभिनयको प्रशंसा हुन थालेको छ।
लोकप्रिय गायक अर्जुन सापकोटा र अञ्जिता विश्वकर्माको स्वर रहेको गीतमा गणेश अधिकारीको लय रहेको छ। गीतको भिडियो निर्देशन निशान बानियाँले गरेका छन् भने स्मारिका ढकाल र प्रभात पल ठकुरीले अभिनय गरेका छन्।

प्रेम, भावना र सम्बन्धका संवेदनशील पक्षलाई समेटिएको गीतमा आकर्षक शब्द संयोजन र सुमधुर संगीतले विशेष मिठास थपेको छ। गायकद्वयको स्वरले गीतलाई थप जीवन्त बनाएको छ भने कलाकारहरूको स्वाभाविक अभिनयले भिडियोको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
प्रहरी सेवामा रहेर पनि साहित्य तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय प्रहरी निरीक्षक थापाको शब्द रचनाले उनको बहुआयामिक प्रतिभालाई उजागर गरेको छ।
समग्रमा ‘महल चाहिँदैन’ शब्द, संगीत, स्वर र अभिनयको सुन्दर संयोजन बनेको छ। गीतको भावनात्मक पक्ष र प्रस्तुतिले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।





