सुरक्षा सरोकार । नेपाल प्रहरीभित्र कार्यरत कर्मचारीका पीरमर्का, गुनासा र समस्यालाई सुन्ने तथा तिनको समयमै सम्बोधन गर्ने उद्देश्यसहित प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नयाँ पहल सुरु गरेका छन्। संगठनभित्र तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत समाधान गर्ने उद्देश्यले उनले अधिकारी तथा कर्मचारी सम्मिलित टोलीलाई जिम्मेवारी दिएका हुन्।

प्रहरी महानिरीक्षक केसीले प्रशासन शाखामार्फत जारी गरेको पत्रमा विभिन्न दर्जाका प्रहरी कर्मचारीलाई गुनासो सुन्ने, लिपिबद्ध गर्ने, व्यवस्थापन गर्ने र सम्भव भएसम्म तत्काल समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।

यसका लागि अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा टोली गठन गरिएको छ। टोलीमा कार्य शाखाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, प्रहरी निरीक्षक प्रकाश थापा र सञ्जिता श्रेष्ठ, कल्याण महाशाखाकी वरिष्ठ प्रहरी नायब निरीक्षक शान्तालक्ष्मी बलामी, अपराध अनुसन्धान विभागका प्रहरी नायब निरीक्षक धर्मी यादव, सञ्चार निर्देशनालयका प्रहरी सहायक निरीक्षक हरिबहादुर देउजा तथा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रहरी जवान विष्णु घिमिरे रहेका छन्।

टोलीलाई प्रहरी कर्मचारीका व्यक्तिगत तथा पेसागत समस्या, सेवासुविधासम्बन्धी गुनासा, कार्यसम्पादनका क्रममा देखिएका कठिनाइ र अन्य पीरमर्का सुन्ने तथा व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी दिइएको छ। प्राप्त गुनासाका प्रकृति र गम्भीरताअनुसार सम्बन्धित कार्यालय तथा शाखासँग समन्वय गरी समाधानको पहल गर्न पनि निर्देशन दिइएको छ।

त्यसैगरी, गुनासो सम्बोधनका क्रममा भएका प्रगति र समाधानको अवस्थाबारे नियमित रूपमा प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराउन भनिएको छ। यसले कर्मचारीका समस्या केवल सुन्ने औपचारिकतामा सीमित नराखी तिनको समाधानको अवस्थासमेत अनुगमन गर्ने उद्देश्य राखेको देखिन्छ।

पुरीलाई सम्बोधन गरी पठाइएको पत्रमा प्रहरी महानिरीक्षकको सचिवालयमा जाहेर गर्न उनको साथमा अन्य प्रहरी कर्मचारीलाई समेत जिम्मेवारी तोकिएको उल्लेख गर्दै तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न गराउन निर्देशन दिइएको छ।

प्रहरी संगठनमा नेतृत्व तह र तल्लो तहका कर्मचारीबीच प्रभावकारी संवाद स्थापित हुनु, कर्मचारीका समस्या समयमै नेतृत्वसम्म पुग्नु र गुनासाको सुनुवाइ हुनु संगठनात्मक सुधारका महत्त्वपूर्ण आधार हुन्। कर्मचारीका जायज समस्या सम्बोधन हुँदा उनीहरूको मनोबल, कार्यक्षमता र संगठनप्रतिको अपनत्व बढ्न सक्छ। त्यसको सकारात्मक प्रभाव अन्ततः नागरिकलाई प्रदान गरिने प्रहरी सेवामा समेत पर्न सक्छ।

विशेषगरी प्रहरी संगठनमा लामो समयदेखि कार्यबोझ, कार्यस्थलको वातावरण, सरुवा तथा पदस्थापन, वृत्तिविकास, सेवासुविधा र व्यक्तिगत पीरमर्कासम्बन्धी गुनासा रहने गरेका छन्। यस्ता विषयलाई व्यवस्थित रूपमा सुन्ने र समाधानको प्रक्रियामा लैजाने संयन्त्र प्रभावकारी बन्न सके त्यसले संगठनभित्र विश्वास र जवाफदेहिताको संस्कृति विकास गर्न सहयोग पुर्‍याउन सक्छ।

यस पहलको अर्को चासोको विषय पत्रको भाषाशैली पनि बनेको छ। प्रहरी महानिरीक्षक स्वयंले मातहतका कर्मचारीलाई जिम्मेवारी तोक्दा पत्रको अन्त्यमा ‘निर्देशानुसार’ अनुरोध गरिएको उल्लेख छ। संगठन प्रमुखको निर्देशनसमेत निर्देशानुसारको भाषामा व्यक्त हुनु प्रशासनिक अभ्यासका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, यो पहलको वास्तविक सफलता टोली गठन र जिम्मेवारी तोक्नुमात्र होइन, कर्मचारीले निर्भीक रूपमा आफ्ना समस्या राख्न पाउने वातावरण निर्माण हुनु, गुनासाको निष्पक्ष सुनुवाइ हुनु र प्राप्त समस्याको समयमै परिणाममुखी समाधान हुनुमा निर्भर रहनेछ।

कर्मचारीको मनोबल उच्च राख्ने, उनीहरूको आवाज नेतृत्वसम्म पुर्‍याउने र संगठनभित्रै समस्याको समाधान खोज्ने यो प्रयास नेपाल प्रहरीको आन्तरिक व्यवस्थापन सुधारतर्फको सकारात्मक सुरुवातका रूपमा लिन सकिन्छ। अब यसको प्रभावकारिता कार्यान्वयन र प्राप्त गुनासामाथि हुने वास्तविक सम्बोधनले निर्धारण गर्नेछ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको यो पहल प्रशंसनीय छ। संगठनको नेतृत्व कर्मचारीको पीरमर्का सुन्ने र समस्या समाधानमा अग्रसर हुनु सकारात्मक अभ्यास हो। कर्मचारीको मनोबल उच्च राख्न, संगठनप्रति अपनत्व बढाउन र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न यस्ता कदमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ। यो सुधारको राम्रो सुरुवात हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय