
सुर्खेत । चाडपर्वको मानवीय संवेदनालाई आत्मसात् गर्दै सुर्खेत प्रहरीले हिरासतमा रहेका व्यक्तिहरूलाई पनि भाइटिकाको अवसरमा फूलमाला लगाउन दिने भएको छ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ५५ जना र बाबियाचौर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ९ जना गरी कुल ६४ जना जुवाताससम्बन्धी आरोपमा पक्राउ परेकाहरूलाई भाइटिकाको दिन फूलमाला लगाउन दिइने भएको हो।

सरकारवादी मुद्दा भएकाले तथा हाल सरकारी बिदा परेका कारण उनीहरूको कानुनी प्रक्रिया भने कात्तिक ३० गतेदेखि मात्रै अघि बढ्ने सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।
कानुनी प्रक्रियामा रहेका व्यक्तिहरूलाई समेत चाडपर्वको भावनाबाट अलग नराखी पारिवारिक तथा सांस्कृतिक सम्बन्धको सम्मान गर्ने प्रहरीको यो निर्णयलाई सकारात्मक र मानवीय पहलका रूपमा हेरिएको छ।
कानुन कार्यान्वयनसँगै मानवीय संवेदना र सामाजिक संस्कारलाई पनि उत्तिकै महत्व दिनुपर्छ भन्ने सन्देश यस कार्यले दिएको छ।





