
अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकाको अदालतमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताको हत्या आफूले नगरेको दाबी गर्दै पत्नीले आत्महत्या गरेको र आफू डरका कारण शव लुकाउन बाध्य भएको जिकिर गरेका छन्।
सन् २०२४ को गर्मीयाममा भर्जिनियाबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। उनी बेपत्ता भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ।

अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले जुलाई २९, २०२४ को राति आफू सुत्न गएको र भोलिपल्ट बिहान करिब ४ बजे पत्नीलाई बेडरुममा अचेत अवस्थामा भेटेको बताए। ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यहाँ चक्की, रगत र ‘सेल्फोस’ नामक कृषि विषादीसमेत रहेको उनको दाबी छ।
उनले ममतालाई सीपीआर दिने प्रयास गरेको तर तत्काल प्रहरी वा आपत्कालीन सेवामा खबर नगरेको स्वीकार गरे। पत्नीको मृत्युमा आफूलाई दोषी ठहर गरिने डरले प्रहरीलाई खबर गर्न नसकेको उनको भनाइ छ।
शव काटेर फोहोरमा फालेको स्वीकार
भट्टले ममताको शव घरको डस्टबिनमा अटाउन नसकेपछि शरीरका विभिन्न भाग काटेर सानो बनाउने प्रयास गरेको स्वीकार गरेका छन्। त्यसक्रममा खुट्टा शरीरबाट अलग गर्न खोजेको र अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरा प्रयोग गरेको पनि उनले बताएका छन्।
उनका अनुसार शव व्यवस्थापनका क्रममा घरको पुरानो फोहोर गाडीमा राखेर फल्स चर्च क्षेत्रमा फालेका थिए। त्यसपछि ममताको शव भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेका थिए। शवका अवशेष व्यवस्थापन गर्न तीनवटा झोला प्रयोग गरेको उनको अनुमान छ।
अभियोजन पक्षका वकिलले शवका टुक्रा फेला नपरून् भनेर फोहोरमा फालेको हो भन्दै प्रश्न गर्दा भट्टले स्वीकार गरेका थिए।
शव लुकाउन सामान खोज्दै होम डिपो र वालमार्ट
भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्दै होम डिपो र वालमार्ट गएको बयान दिएका छन्। उनले होम डिपोबाट पञ्जा किनेको र पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको स्वीकार गरे।
ममताको शव काट्न केही चक्कु प्रयोग गरेको र घटनापछि उनको मोबाइल फोन नालीमा फालेको पनि उनले अदालतमा बताएका छन्।
अभियोजन पक्षले भट्टको गुगल सर्च हिस्ट्रीसमेत अदालतमा प्रस्तुत गरेको थियो। उनले अनुसन्धान अवधिमा करिब १४ हजार गुगल सर्च गरेको अनुमान सुनाएका छन्। अगस्ट ५ मा बेपत्ता व्यक्तिहरू फेला पर्ने सम्भावनाबारे र अगस्ट १७ मा आफ्नो बच्चालाई साथीको जिम्मा लगाउन मिल्ने विषयमा खोजी गरेकोबारे पनि प्रश्न गरिएको थियो।
त्यस्तै, ‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्रीबारे गरिएको खोजीबारे उनले सबैको कारण सम्झन नसकेको बताएका थिए।
घरेलु हिंसाको आरोप अस्वीकार
अदालतमा अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिर पनि प्रस्तुत गरेको थियो। उक्त तस्बिरमा ममताको दाहिने आँखामुनि नीलडाम तथा हात र नाकमा रगत देखिएको थियो। उनले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ लेखेकी थिइन्। जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए।
तर भट्टले आफूले ममतामाथि कहिल्यै हात नउठाएको र घरेलु हिंसामा संलग्न नभएको दाबी गरेका छन्। उनले आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको पनि अदालतमा बताएका थिए।
अभियोजन पक्षको कडा जिरह
बिहीबार प्रतिरक्षा पक्षको प्रश्नोत्तर सकिएपछि अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टमाथि कडा जिरह गरेका थिए।
‘तपाईं झुटो बोल्ने व्यक्ति हुनुहुन्छ,’ स्वीटले भनेपछि अदालतमा उपस्थित केही व्यक्तिले ताली बजाएका थिए। त्यसपछि न्यायाधीश किम्बर्ली इर्भिङले अदालतमा शान्ति कायम गर्न निर्देशन दिएकी थिइन्।
स्वीटले पत्नी र छोरीकी आमाप्रति देखाएको प्रेम शव टुक्राटुक्रा पारेर फोहोरमा हाल्नु हो भन्दै प्रश्न गरेका थिए। जवाफमा भट्टले आफूले गरेका काम स्वीकार गरेका थिए।
अभियोजन पक्षले अमेरिकी नागरिकता आवेदनमा जन्मस्थान नेपाल उल्लेख गरेको तर अदालतमा भारतको नयाँदिल्लीमा जन्मिएको बताएको विषय पनि उठाएको थियो। यसलाई वकिल स्वीटले झुटो भनेपछि भट्टले ‘यो झुट होइन, संस्कृति हो’ भन्ने जवाफ दिएका थिए।
बिहीबार साँझ करिब ५ बजे अभियोजन पक्षको जिरह सकिएको थियो। प्रतिरक्षा पक्षले आगामी सोमबार पुनः केही प्रश्न गर्ने र त्यसपछि आफ्नो पक्षका प्रमाण तथा बहस प्रस्तुत गर्ने जनाएको छ।
ममताको शव अझै फेला परेको छैन। भट्टले शव लुकाएको स्वीकार गरे पनि हत्या नगरेको र ममताले आत्महत्या गरेको दाबी गरेका छन्। अब अदालतमा प्रस्तुत हुने प्रमाण र जुरीको निर्णयले यस घटनाको न्यायिक निष्कर्ष तय गर्नेछ।





