इलाम। इलाम नगरपालिका–४ छ्यारछारेमा धारिलो हतियार प्रहारबाट एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८३ कार्तिक १५ गते आइतबार दिउँसो करिब ४ः३० बजे स्थानीय ३२ वर्षीय सुवास लोहारमाथि धारिलो हतियार प्रहार भएको हो। सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

अचानक भएको हतियार प्रहारबाट सुवासको गाला, टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याइएको थियो। हाल उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता तथा घटनाको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाइएको छ।

युवकमाथि धारिलो हतियार प्रहार गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषय भने हालसम्म खुल्न सकेको छैन। आपसी विवाद, रिसइबी वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय