
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन्। उनका अनुसार पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा कार्यालयको कुनै संलग्नता नरहेको र घटनाबारे पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेकी छन्।

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको दाहालले बताएकी छन्।
त्यसैगरी, समाचार कक्षमा प्रवेश गरी पत्रकारहरूमाथि कुनै पनि प्रकारको धरपकड नगर्नसमेत प्रधानमन्त्रीले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनले उल्लेख गरेकी छन्।





