
वीरगन्ज । पर्सा जिल्लामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पछिल्लो महिनामा कर्तव्य ज्यानसम्बन्धी एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीसम्बन्धी एक घटना पनि अभिलेख गरिएको छ।
यसैगरी, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानका क्रममा प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ। अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गर्नुका साथै १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको छ। उक्त प्रकरणमा ३ लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको विवरणअनुसार पछिल्लो महिनामा जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गर्दा १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।





